सुजन दाहाल
राजनैतिक दलका कार्यकर्ता नेता आउदै छन् भन्ने सुने भने ज्यान नै फालेर हातमा सयपत्री फुलको माला बोकेर एयरपोर्ट दर्गुछन् । नेताको जय जयकार गर्छन । कयौ कार्यकर्ताहरु नेताको चाकरी र भजन गाउनमा रमाउने गर्छन् । नेपालमा यस्ता कार्यकर्ता उत्पादन भएका छन् जो सधै नेताको हनुमान चालिसा मात्र गाई रहन्छन् । नेता पनि कस्ता छन् भने प्लेनबाट उत्रिदा उत्रिदै माला लाउन टाउको निहुयाउदै आउछन् । आफ्ना हनुमानहरुले सयपत्री फुलको माला ल्याएर लाइ दिएन भने रिसाउने गर्छन ।
एयरपोर्टमा नेता सयपत्री फुलको मालाले पुरिएका हुन्छन् । हनुमानहरु नेतालाई मालाले पुरेर ठूलै काम गरेको अनुभूति गर्छन । प्रजातन्त्रिक व्यवस्था आइ सक्दा पनि पञ्चायतकालिन मानसिकता, शैली र व्यवहार परिवर्तन हुन सकेको छैन ।
सवै भन्दा पहिला चर्चा गरौ नेताको । नेता त्यस्तो हुनु पर्र्छ जसलाई प्रेमले सम्मान साथ माला लगाउन पाइयोस । नेतालाई घाटी भरी माला लगाउदा गर्भले छाती फुलोस । तर दुर्भाग्य नेताहरु काममा केही लछारपाटो लाउदैनन । जनताको पिरमार्का बुझ्दैनन् । नेताले जनातालाई भजन गाउन मात्र सिकाएका छन् । आफुलाई फुलको माला पहि–याएर जय जयकार गर्न सिकाए । नेपालका नेता सायदै घाटीभरी माला लाएर सम्मान गर्न योग्य छैनन् । आफु, आफ्नो परिवार, भाइ भतिजा, आसेपासे चाकरीकर्ता बाहेक कसैको काम गर्दैनन् ।
आसेपासेको घेरामा रमाउने गर्छन् । हिजो चप्पल लगाएर लुखुर लुखुर हिडने हरु आज पचास लाखको गाडीमा सयर गर्छन र जताततै महल खडा गरेका छन । वरपरका मान्छे हप्काउदै हिडछन् । कमाउ घन्दामा मात्र लागेका छन् । जनताको तथ्यगत आलोचना सुन्ने क्षमता छैन । निश्पक्ष रचनात्मक आलोचना गरो भने आफ्नो विरोध गरेको ठान्छन् । कोही संग तर्कपूर्ण व्यवहार गर्दैनन् । यस म्यान मात्र उत्पादन गर्छन । नेताहरु निष्पक्ष, विवेकशिल र जिम्मेवार बन्न सकेका छैनन् । यी सवै काम गर्न भन्दा घाटी भरी माला लगाइ दिने कार्यकर्ता उत्पादन गर्नमा लागि परेका छन् । त्यसैमा खुसी र आनन्दको अनुभूति पनि गरेका छन् ।
अव चर्चा गरौ कार्यकर्ताको । नेता नै गतिला नभए पछि कार्यकर्ता गलिता हुने कुरै भएन । नेताको अगाडी पुगेर एक शब्द बोल्दैनन् । कुनै पनि बिषयवस्तुमा प्रतिवाद गर्दैनन् । तर्क र सत्य प्रस्तुत गर्दैनन् । आफनो बुद्धी विवेकको प्रयोग गर्दैनन् । नेताको अगाडी पुगेपछि दिमाग शुन्य हुन्छ । सर्पले गरुड देखे जतिकै गर्छन् । कुनै कुरा जाने पनि नजाने जस्तो गर्छन । नेतालाई भगवान कै अवतारको रुपमा पुजा गर्छन । नेता हामीले नै बनाएको हो भन्ने सत्यलाई विर्सछन् । बरु सयौ चोटी स्वर सुकुन्जेल घाटी दुखुन्जेल जयजयकार गर्छन । त्यसपछि आफनो सानो तिनो स्वार्थ पुरा गर्छन र त्यसमा नै रमाउछन् । अन्तमा सयपत्री फुलको माला लगाइदिन्छन् र साष्टाङ्ग गर्छन ।
प्रभूको इच्छा भन्छन् । यहाँ कार्यकर्ताको व्यवहार हेर्दा लाग्छ कि उनीहरुले चाकडीमा पि एच डी गरेका छन् ।
सयपत्रीको मालाको यो व्यवसाय देखेर आश्चर्यमा परिन्छ । बेतुकको यो काम समाज निर्माणको बाधक हो । सयपत्री फुलको मालाले असम्भव काम पनि सम्भव बनाएको छ । विकृती विसंगति बढाएको छ । चाकरी गर्न सयौ शब्द खर्च गरेर घोक्रो सुकाउनु भन्दा एउटा पचास रुपयाँमा फुलको माला ल्याएर लाइ दियो भने सम्पूर्ण काम पूर्ण हुन्छ । यो साह्रै सजिलो उपाय भएको छ । सयपत्री फुलको माला त विशेष अवसरमा लगाउनु पर्ने हो । तर यहाँ जुनसुकै अवसर र परिस्थितीमा प्रयोग गर्ने गरिन्छ । नेतालाई चाकरीको नाममा घाटी भाच्चिने गरी पच्चिस केजी, पचास केजी, एक सय केजीको माला लगाइ दिएको देखिन्छ ।
कुनै अलौकिक काम नगरी त्यत्रो माला लगाउनु चाकरी बाहेक अरु केही हुन सक्दैन । यस्तो व्यवहार, आचरण र प्रवृत्तिले कहिले देशको विकास हुन्छ ? आउदो पुस्ताले के सिक्छ ? यस्तो दिक्क लाग्दो कार्यले सभ्य र स्वाभलम्वी नागरिकलाई मानसिक रुपमा विचलित गराउछ । यस्तो चाकरी खाने र गर्ने कार्यलाई कहिले सम्म निरन्तरता दिने ?
नेपालमा सयपत्री फुल तिहार आसपास मात्र फुल्दछ । तर बजारमा कहिलै अभाव हुदैन । बर्षेनी करौडौ रुपयाँको फूल आयात भै रहेको छ । फूल व्यापारी मोटाइ रहेका छन् । जसको प्रयोग कुनै राम्रो काममा भएको छैन । नेताका घाटी भर्न मात्र करौडौको फुल खर्च भइ रहेको छ । त्यत्रो लगानी गरेर फुल ल्यायो नेताका घाटीमा लगाइदियो अनि मिल्काइदियो । यसले देशलाई आर्थिक रुपमा फाइदा पुगेको छैन । व्यापार घाटा मात्र बढाएको छ ।
यसरी माला संस्कृतिलाई कायम राख्ने हो भने नेपालमा फुल आयात गरेर खर्च गर्ने हैन बरु चाकरी महारथीहरुले आफ्नै बारीमा फुल उत्पादन गर्नु उत्तम हुन्छ । फूलमा राज्यको करौडौ रुपयाँ त्यतिकै विदेशिएर गएको छ । देशका लागि घाटा हुने काम मात्र भएको छ । यो मुर्खतापूर्ण कार्य बाहेक केही हुन सक्दैन ।
विश्वका शक्तिशाली नेताहरु डोनाल्ड ट्रम्प, नरेन्द्र मोदी, भ्याादिमिर पुटिन आदी जस्ताको घाटीमा कहिलै माला देखिदैन । त्यसबाट नेपालका नेताले केही सिके हुन्थ्यो नि । समाज अव परिवर्तन हुन जरुरी छ । चाकरी प्रथा सदाको लागि बन्द हुनु पर्छ ।
चाकरीमा रमाउने यस्तो प्रवृत्तिले गर्दा विकास र रचनात्मक कार्यमा अवरोध आएको छ । कार्यकर्तालाई चाकरीमा लाउने हैन । उत्पादनशील कार्यमा लाग्न प्रोत्साहित गर्नु पर्छ । जनतालाई प्रजातान्त्रिक व्यवहार गर्नु पर्छ । कार्यकर्ताले पनि नेतालाई माला लगााएकै भरमा जिवन चलाउछु भनेर सोच्नु हुदैन । रचनात्मक र आयमुलक काम गर्नु पर्छ । स्वाभलम्वी बन्न सिक्नु पर्छ । योग्यता र क्षमताको विकास गर्नु पर्छ । जीवनमा चाकरी हैन श्रम गरेर खान सिक्नु पर्छ । चाकरी कमजोर व्यक्तिले गर्ने हुदाँ त्यस्ता कमजोर व्यक्तिलाई सक्षम बनाउनु पर्छ । नेताले नीति बनाउने हो । समाजलाई सुमार्गमा हिडाउन नेतृत्व गर्ने हो ।
राज्य निर्माणका लागि भिजन दिने हो । कता माला लाउन पाइन्छ भनेर खोजी हिड्ने हैन । दुई चार जना भेला पारेर भाषण छाट्ने हैन । काम गर्ने हो । नेता सम्मानित बन्नु पर्छ । नेतृत्व सक्षम बन्नु पर्छ । जनता सचेत र श्रमजिवी वन्नु पर्छ । अरुको गुलाम गरेर होइन सानका साथ स्वाभिमान संग जिवन जिउनु सिक्नु पर्छ । चाकरी गर्ने र गराउने सिलसिला रोकेर सयपत्री मालाको संस्कृति अत्य गर्नु पर्छ । माला संस्कृतिको अन्त्य भए संगै देश समृद्धिको बाटोमा अगाडी बढ्छ । अन्यथा आउदा कयौ बर्ष देश विकास हुन सक्दैन । यो निश्चित छ कि जनताले यस्तै दुःख भोग्दै जानु पर्छ ।
Comments
Post a Comment