१५, माघ २०७५
नेपाल बढी भ्रष्टाचार हुने देशको सूचिमा परेको छ । दक्षिण एसियामा भने नेपाल सबैभन्दा बढी भ्रष्टाचार हुने देशको तेस्रो स्थानमा परेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले आज ‘भ्रष्टाचार अवधारणा सूचाङ्क’ सार्वजनिक गर्दै नेपाल गत वर्ष जस्तै ३१ अङ्क ल्याएर १८० मुलुकमध्ये १२४ औँ स्थानमा रहेको देखाएको हो ।
नेपाल सहित ट्रान्सपरेन्सी इन्टरनेशनलले आज विश्वका १८० देशको भ्रष्टाचारको सूचाङ्क सार्वजनिक गरेको छ । ट्रान्सपरेन्सीले सार्वजनिक गरेको सूचाङ्कमा सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकमा सोमलिया र कम भ्रष्टाचार हुने मुलुकमा डेनमार्क छ । सय पूर्णाङ्कमा सोमलियाले १० अङ्क र डेनमार्कले ८८ अङ्क ल्याएका छन् । ट्रान्सपरेन्सीको प्रतिवेदनमा दुई तिहाइ मुलुकले ५० भन्दा कम अङ्क पाएका छन् ।
सीपीआई प्रतिवेदनमा दक्षिण एसियामा अफगानिस्तान सबैभन्दा धेरै र बंगलादेश दोस्रो धेरै भ्रष्टाचार हुने देशका रुपमा रहेको प्रतिवेदनमा उल्लेख छ । ट्रान्सपरेन्सी इण्टरनेशनलले विश्वका १ सय ८० देशमा भ्रष्टाचारको अवस्थाबारे अध्ययन गरी एकसाथ सीपीआई प्रतिवेदन सार्वजनिक गर्ने गरेको छ ।
‘नेपालमा सबैभन्दा ठूलो भ्रष्टाचार राजनीतिक दलले गर्ने नीतिगत भ्रष्टाचार र कर्मचारीतन्त्रमा रहेको छ ।‘ ट्रान्सपरेन्सीका अध्यक्ष खेमराज रेग्मीले बताउनु भयो । नेपालमा निर्वाचन भएर दुई तिहाइको सरकार आए पछि पनि भ्रष्टाचार घटेको छैन, उहाँले भन्नुभयो, गत वर्षको तुलनामा यस वर्ष भ्रष्टाचारको अवधारणामा सुधार देखिएको छैन, त्यसैले नेपालको अवस्था नाजुक र चिन्ताजनक रहेको छ । मुखले मात्र सुशासन र भ्रष्टाचार नियन्त्रणको कुरा गर्ने तर व्यवहारमा नउतार्ने प्रवृत्तिले भ्रष्टाचार नियन्त्रणमा कुनै सुधार भएको छैन ।
Comments
Post a Comment